ताजा समाचार दु:खद खबर

छोरीलाई डाक्टर बनाउँछु भन्थ्यो, काठको बाकसमा आयो छोरा!

मेरो स्नातक तहको पहिलो वर्षको परीक्षा सकि एपछि मलाई २ हप्ताको कलेज बिदा थियो। बिदाको दिन सही सदुपयोग गर्ने इच्छामा म र मेरो साथीहरू मिलेर स्याङ्जाको ग्रामीण क्षेत्रमा जाने योजना बनायौं। यात्राको दोस्रो दिन हामी एउटा गाउँमा पुग्यौं।

यात्रा रोमाञ्चक नै थियो। ठूला-ठूला पहाड, बेसीतिर बगेकी कालीगण्डकी र आँधिखोला, हरियाली वनजङ्गल, माछापुच्छ्रे    र अन्नपूर्ण हिमालको दृश्य र उत्तरतर्फ जिमिरे र कल्लेरीको पहाडबाट आएको शितलताले साँच्चिकै हामी स्वर्गमा पुगेजस्तै लागेको थियो। दिन ढल्किँदै थियो।

दिनभरीको यात्राले हामी सबै थकित थियौं। केहीबेर थकाइ मार्न चौतारीमा बस्यौं। त्यतिनै बेला एक जना ७०/७५ वर्षको बा च्यातिएको इष्टकोट, पुरानो कमिज,महिलो पोड्का अनि पुरानो पाल्पाली ढाका टोपी र पिठ्यूँमा एक भारी दाउरा लिएर आउनुभयो

‘बाबुहरूलाई त यो गाउँमा नयाँ देख्छु त म। बाबुहरू कहाँबाट आउनुभयो? यात्रा कहाँसम्म को होला?’भनेर हामीलाई सोध्नुभयो अनि हामीले हाम्रो परिचय दियौं।

हल्का हल्का झिस्मिस्स अँध्यारो परेको हुनाले अब हामीलाई बासको बन्दबस्त गर्नु थियो।

त्यै भएर हामीले त्यो बालाई ‘बा यता नजिकै बास बस्ने होटल कता छ नl?’ भनेर सोध्यौं। बाले मेरो घरको छेउमै छ हिँड बाबुहरू भनेर आफ्नो पछि-पछि लैजानु भयो।

हामी होटल अघि पुग्यौं। यही हो बाबु मेरो घर भनेर होटलकै छेउको माटे घर देखाउनु भयो। आँगन बाहिर दुई जना बच्चा पढिरहेका थिए। सायद बाका नाति-नातिना होलान् सोचें।

नानी बाबु पढिरहेको देख्दा त तिनीहरूसँग गएर केही गफ गर्न मन लाग्यो। साथीहरूलाई होटलमा पठाएर म भने बाको घरतिर लागें।  घरमा बा, बाकी श्रीमती, बुहारी र नाति-नातिनी हुनुहुँदो रहेछ।

हजुरको छोरा कहाँ हुनुहुन्छ नि?’भनेर मैले सोधेँ।

यत्तिकैमा बा र आमाको आँखा आँसुले रसाए। केही बोल्नै सक्नु भएन। म पनि मन दह्रो बनाउँदै नानी-बाबुसँग बोल्न लागें।

नानी ८ अनि बाबु ६ वर्षका रैछन्।

नानी भर्खर ३ कक्षामा पढ्दी रैछन् र बाबु १ कक्षामा। नानी-बाबुहरूसँग केहीबेर बोलेपछि तिनीहरूले हजुर कहाँ हिँड्नु भएको नि भनेर सोधे।

मैले यत्तिकै घुमफिर गर्दै हिँडेको भने। यत्तिकैमा सानो बाबुले बाबा अहिले विदेश हुनुहुन्छ, हामी पनि बाबा आउनु भएपछि घुम्न जानी हो भने।

यत्तिकैमा नानीले मलाई त बाबा अब आउनुहुन्छ जस्तो लाउनै छोड्यो भनेर भनिन्।  आउने भए त यत्रो वर्षसम्म आइसक्नु हुन्थ्यो। न त फोन गर्नुहुन्छ, न त हामीले गरेको फोन उठाउनु हुन्छ। यही बेला बाबुले आफ्नो मम्मीलाई ‘मम्मी बाबालाई फोन गर्नु न अहिले लाग्छ होला’ भनेर भने।

मम्मीले फोन गरेजस्तै गरेर आँसुले टिलपिलाएका आँखाले ‘ल फोन नै लागेन’ भन्नुभयो।

यति भनेपछि एकाएक घरको माहोल भावशून्य भयो। सन्नाटा छायो। म त केही बोल्नै सकिनँ। सबै रोएको देखेर त्यो बाबुले सबैलाई ‘नरूनुस्, मैले जहिले बाबालाई फोन गर्न भन्दा हजुर हरू रूनुहुन्छ। अब मैले कहिले पनि फोन गर्न भन्दिनँ’भन्दै सबैलाई फकाउने प्रयास गरे।

मलाई त के भैरहेको थियो, वास्तविक घटना के हो केही अत्तोपत्तो थिएन।

यत्तिकैमा साथीले होटलबाट खाना खान बोलायो।  म सबैसँग बिदा भएर होटलतर्फ लागेँ।

रातभरि त मलाई त्यै घरको कुरा याद आइराख्यो। अर्को दिन बिहान करिब ९ बजेतिर ती नानीबाबु स्कुल गएको देखेँ। अनि मलाई त फेरि पनि त्यै घरमा जान मन लाग्यो। केहीबेरको गफगाफपछि मैले बालाई सोधेँ ‘बा वास्तविक कुरा के हो भन्नुस् न।

हिजो किन सबै जनाले आँखाबाट आँसु झार्नुभएको। मलाई नि हजुरको छोरा जस्तै मानेर भन्नुस् न।’

त्यसपछि बाले आँसु खसाल्दै भन्नुभयो।

‘बाबु मेरो छोरालाई परदेशले लग्यो। परिवारको जिम्मेवारी बोक्दै ,छोराछोरीलाई धेरै पढाउने अनि रोगी आमालाई सञ्चो बनाउने अठोट राखेर शिरमा ऋणको भारी राख्दै मेरो छोरो खाडी पस्यो। सधैंभरि हाम्रै आँखा अघि भएको हाम्रो एकमात्र सन्तानलाई परिस्थितिले खाडी पुर्‍यायो।

हामीलाई त दुःखले कहिले पनि छोड्दै छोडेन। गरिबीकै कारणले छोरालाई हामीले पढाउन सकेनौं। त्यै गरिबीको कारण छोरो खाडी पस्न बाध्य भयो। सधैंभरि आफ्नो छोरीलाई मुटु रोगको डाक्टर बनाउने हो भन्थ्यो। धनसम्पत्ति जेजस्तो भए पनि छोराछोरीलाई राम्रो बाटोमा हिँडाउने हो भन्थियो। खाडीमा कहाँ सोचेजस्तो हुँदो रैछ र बाबु!

अर्काको देश,अर्कैको शासन। खाडीमा त सबै विरानो। ३ वर्षको छोरी र १ वर्षको छोरा छोडेर मेरो छोरो खाडी पस्यो। सुरूमा भने जस्तो काम पाएन। बल्ल तल्ल एउटा काम फेला पारेको थियो त्यै नि खाडीको त्यो गर्मीमा कहाँ आफ्नो रगत र पसिनासँग पैसा साट्न सक्थ्यो र!

आफ्नो छोरीलाई मुटु रोगको डाक्टर बनाउँछु भन्ने मेरो छोरो आफू नै हृदयघातका कारण हामी सबैलाई छोडेर गयो।

आफ्नो प्राण नि बिरानो देशमा फाल्न बाध्य भयो। आफूलाई अस्पतालसम्म पुर्याउने मान्छे पाएन मेरो छोरोले।मेरो छोरोले न त परिवारको जिम्मेवारी पूरा गर्न सक्यो, न त आफ्नो आमाला   ई नै उपचार गर्न सक्यो, न त आफ्नो छोराछोरी र श्रीमतीको इच्छा पूरा गर्न नै।परदेशमा बसेर धेरै पैसा कमाएर आउँछु है बा’ भन्दै गएको मेरो छोरो गएको ८ महिनामा ठूलो काठको बाकस मा फिर्ता आयो।

यस्तो देख्दा कुन चाहिँ बाबाआमाले सहन सक्छन् होला र? नातिनीले बरू आफ्नो बाबाको अनुहार सम्झेकी होली तर नातिलाई त केही अत्तोपत्तो छैन

यो घटनाबारे तिनीहरूलाई केही नि सम्झना नै छैन।

बेला बेलामा बाबालाई फोन गर्न भन्छन् हामीले त केही भन्नै सक्दैनम। हामीले बुढेसकालको सहारा गुमायौं, बुहारीले कलिलै उमेरमा आफ्नो श्रीमान गुमाइन् र नाति-नातिनाले आफ्नो बाउ र बाउको माया गुमाए।

हामी त डाँडा माथिको घाम कति खेर अस्ताउँछौं थाहा नै छैन्।

बुहारी र नाति-नातिनाको पो पीर लाग्छ हामीलाई त।

केही गरम् भन्नलाई जग्गा जमिन छैन। रोजगारी गर्नलाई हातमा सिप छैन। यो त हाम्रो मात्र कथा होइन नि बाबु अधिकांश नेपालीको कथा अनि बाध्यता हो।’

बालेको कुरा सुनेपछि मनै चिसो भएर आयो। कुन बेला आँखा बाट आँसु झरे पत्तै भएन। नेपालीको वास्तविक दुःख त मैले यही घरमा फेला पारेँ। ती बाआमाले छोरा गुमाए, छोराछोरीले आफ्नो बाउ। छोरी डाक्टर बनेको हेर्ने सपना न त्यो बाबाको सफल हुन सक्यो। न त छोरीलाई डाक्टर बन्न हौसला दिने मान्छे नै रह्यो।

यी कुरा सुन्दा सुन्दैमा साथीहरूले मलाई यात्रा गर्न अबेर भयो जाम भनेर बोलाए।

म त्यस घरबाट मन भारी पर्दै बिदा भएँ। यात्रा त अन्य राम्रा-राम्रा ठाउँमा त गरियो तर मेरो मनमा त सधैं त्यै कुराको मात्र याद आइराख्यो।

के परदेशिनु नेपालीको रहर नै हो त? – होइन

परदेशिन कसैको रहर हुँदैन। देशमा रोजगारी पाए खाडीको गर्मीमा को पो जान्थ्यो! आफ्नो आमाबाउको काख मै बस्न पाए अरबमा को पो जान्थ्यो र! जे जस्तो घटना भयो अब यस्तो घटना सुन्न नपरोस्। राज्यले आफ्नै देशमा रोजगारी सृजना गर्न सकोस्।

Facebook Comments Box