एक्सक्लुसिभ भिडियो ताजा समाचार

बालेन शाहले कहिले पाउलान् खादा र माला लगाउन? (भिडिओसहित)

काठमाडौं उपत्यकाको फोहोर फाल्न यहाँ तीन वर्षदेखि डम्पिङ साइट बन्दैछ।सत्र वर्षदेखि फोहोर फालिँदै आएको सिसडोल नजिकै छ।बञ्चरे डम्पिङ साइटमा सेक्युरिटीको काम गर्ने हस्तबहादुर लामा त्यस दिन रातको ड्युटी सकेर भर्खरै घर फर्केका थिए।

हातमुख धोएर चियाको दुई सुरूप लिन नभ्याउँदै सिटीको आवाजले रनबन घन्किएपछि उनी चियाको गिलास भुइँमा छाडेर आँगनमा निस्के।उनले देखे — डम्पिङ साइटनिर एक दर्जन प्रहरी भ्यान र फोहोर ओसार्ने ट्रकहरूको लश्कर छ। वरिपरिका पाखा प्रहरी र सशस्त्रको फौजले छपक्कै ढाकेको छ। तल सडकमा स्थानीयहरू हुल बाँधेर बाटो रोक्न खोज्दै छन्।

माथिबाट प्रहरीहरू सिटी फुक्दै, लठ्ठी उज्याउँदै ‘लखेट लखेट’ भनेर कराउँदै छन्।भालेले डाँक नलिँदै गाउँमा डाँको चर्कियो,’ हस्तबहादुरले जेठ १० गतेको घटना विस्तार लाउँदै भने, ‘हामीलाई फोहोर ल्याउँदैछ भन्ने खबरखाबरै थिएन, प्रहरी तैनाथ गरेर बलपूर्वक खसालियो। यो त जबर्जस्ती भएन र!’

यही क्रम जेठ ११ गते पनि दोहोरियो।

स्थानीयले आक्रोशित हुँदै ढुंगामुढा गरे। लाठी र बुट बर्सियो। आधा दर्जनभन्दा बढी गाडी तोडफोड गरिए।पहिलो दिन १० जना र दोस्रो दिन २० जनाजति पक्राउ परेको हस्तबहादुर बताउँछन्।

पक्राउ परेकाहरू त्यसै दिन छुटिसके तर स्थानीयको आक्रोश आजसम्म घटेको छैन। यो घटनापछि काठमाडौंको फोहोरमैला समस्या बल्झिएको छ।नुवाकोटको सिसडोल र बञ्चरे डाँडाका स्थानीयले फोहोर ओसार्ने एउटा ट्रक धरि गाउँमा छिर्न दिएका छैनन्।

उनीहरू हरेक दिन डम्पिङ साइट जाने बाटोमा धर्ना बस्छन्। बाटोभरि ढुंगामुढा तेर्स्याएर अव रोध गरेका छन्। प्रदर्शन क्रममा बालिएको आगोको खरानीले ठाउँठाउँमा बाटो कालो छ।

यसले दस दिनदेखि काठमाडौंको फोहोर उठेको छैन। सडकमा असरल्ल फोहोरले सहर दुर्गन्धित छ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह यसबीच दुईचोटि सिसडोल र बञ्चरेडाँडा पुगिसके। उनी अवरोध हटाउन खोज्दै छन्। सहरी विकास मन्त्रालयका पदा धिकारीसँग परामर्श गर्दै छन्। फोहोर व्यवस्था पन नभएसम्म खादा र माला नलगाउने घोषणा पनि गरेका छन्।

उनले खादा र माला लगाउने मौका कहिले पाउलान्?पटकपटक बल्झिरहने काठमाडौंको फोहोरमैला समस्याको कारण के? समाधानको बाटो के?

यिनै प्रश्न लिएर गत बुधबार, जेठ १८ गते, हामी सिसडोल र बञ्चरेडाँडा गयौं।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

Facebook Comments Box